Breaking News
Home / अन्तरराष्ट्रिय / म्यानमारबाट लखेटिएका रोहिंग्या : जसलाई आफ्नै देशले स्वीकार्दैन, उनीहरु कहाँको नागरिक ?

म्यानमारबाट लखेटिएका रोहिंग्या : जसलाई आफ्नै देशले स्वीकार्दैन, उनीहरु कहाँको नागरिक ?

काठमाडौं, भदौ ३० – विश्वमा धेरै प्रताडित अल्पसंख्यक समुदायमध्ये एक हुन् रोहिंग्या । म्यानमारमा झण्डै १० लाखको संख्यामा रहेका रोहिंग्या समुदायले कहिल्यै शान्तिको स्वास फेर्न पाएका छैनन् । अल्पसंख्यक भएकै कारण देशमै रहँदाको थिचोमिचो त छँदै छ । विभिन्न बहानामा हिंसा भड्काएर देशबाट लखेटिँदा भाग्नुको विकल्प छैन । बहुसंख्यक बौद्ध समुदाय रहेको म्यानमारमा उनीहरुलाई विदेशी नागरिकको रुपमा हेरिन्छ ।
भारत, बंगलादेशमा पनि उनीहरुलाई आन्तरिक सुरक्षाको खतराका रुपमा लिइन्छ । बंगलादेशको बाटो भारत हुँदै केही रोहिंग्या सन् २०१२ को मध्यतिर नेपाल पसे । भारत पसेका उनीहरु कसरी नेपाल आइपुगे उनीहरुलाई नै थाहा छैन । सन् १९८२ मा म्यानमारमा जब नागरिकतासम्बन्धी कानून बन्यो तब उनीहरुको समस्या बढ्यो । जुन कानूनले उनीहरुलाई नागरिकको दर्जा पनि दिएन । सन् १९४८ मा म्यानमार स्वतन्त्र भएपछि नै बौद्ध र रोहिंग्या समुदायमा विवाद हुँदै आएको हो । म्यानमारमा सैन्य शासन लागु भएपछि रोहिंग्यालाई गरिने सामाजिक बहिष्कार राजनीतिक फैसलाबाटै हुन थाल्यो ।
देश छाड्दाको पीडा
विवाद र समस्या पुरानै भए पनि सन् २०१२ पछि भने उनीहरु देश छाड्न बाध्य भए । सन् २०१२ मा म्यानमारको राखिन राज्यमा भएको साम्प्रदायिक हिंसाले रोहिंग्या समुदाय र बहुसंख्यक बौद्ध समुदायबिचको दंगामा अल्पसंख्यक रोहिंग्या देश छाड्न बाध्य भए । सन् २०१२ मै देश छाड्न बाध्य भएका मध्ये एक हुन् मोहम्मद अयूब ।
२७ वर्षका मोहम्मद अयूब सन् २०१२ मा म्यानमारमा भड्किएको हिंसापछि भागेर बंगलादेश पसे । २२ वर्षको जोशिलो उमेरमा देश छाडेर भाग्नु पर्दा आफूले धेरै दुःखको सामाना गरेको अयूब सुनाउँछन् । बंगलादेश आउनलाई नै उनले जोखिमपूर्ण यात्रा गर्नुपर्‍यो । नदीमा जोखिमपूर्ण डुंगाको यात्रापछि उनी बंगलादेश आइपुगे । भित्री गाउँहरुमा लुक्दै हिँडेका उनी पछि भारत पसे । ‘बंगलादेशमा समेत हामीलाई राम्रो नजरले हेरिँदैनथ्यो । लुक्नु र भाग्नुको विकल्प थिएन । भागेर भारत पसियो । भारत पसेपछि मात्र कति दिनदेखिको भोक मेटियो’ बिहीबार काठमाडौं कपन बालुवाखानीमा भेटिएका अयूबले म्यानमारबाट भागेपछिका दिन सम्झँदै भने, ‘भागेर भारत पसेपछिको एक दिन नमाज पढिरहेको थिएँ । नजिकै एकजनाले हेरिरहेका थिए, नमाज पढेपछि ती मुसलमानले हामीलाई भोको देखेर खानेकुरा दिए ।’
भारत पुगे पनि कहाँ बस्ने के गर्ने भन्ने उनलाई थहा थिएन । उनको परिवार पनि भिडसँग कहिले यता त कहिले उता भौतारियो । ‘त्यहाँ पनि केही समय यता उता भौतारिँदै हिँडियो । मानिसको भिडसँगै यता उता भइन्थ्यो । कुन ठाउँ हो भन्ने पनि थाहा हुँदैन थियो । न हिन्दी भाषा आउँथ्यो, न त उनीहरुले बुझ्ने अरु कुनै भाषा ।’ प्रस्ट नेपाली भाषामा उनले यस्तो बताइरहँदा बेला बेला रोकिन्थे । एकछिन रोकिन्थे, अनि सुनाउँथे आफ्नो दुःखको कहानी । ‘त्यसपछि नेपाल आएछौँ । हामी आइपुगेको ठाउँ नेपाल हो भन्ने पनि पछि मात्र थाहा भयो । हामीसँगै भएका केही मान्छेसँगै हामी घण्टाघरसँगैको जामे मस्जिदमा पुगेका थियौँ । त्यो सन् २०१२ को मध्यतिर हो ।’

तस्बिर : द गार्डीयन
आफ्नो ठाउँ, आफ्नो समय सबैबाट भागेर दुई देशको सीमा कटेर नेपाल आइपुग्दा अयूब केही सोच्न सक्ने स्थितिमा थिएनन् । त्यो जिन्दगीकै दुःखद समय सम्झँदै गर्दा अयूब फेरि रोकिए । विगतको एक फन्कोपछि उनी वर्तमानमा फर्किए । अस्पतालबाट फर्के लगत्तै नमाज पढेर हामीसँग कुरा गर्न तयार भएका थिए उनी । खुट्टा खोच्याउँदै हिँडिरहेका अयुबले भने, ‘मलाई ढाड दुख्ने समस्या छ । सिधा धेरैबेरसम्म बस्न अप्ठेरो हुन्छ । सुतेर बसेँ भने केही सजिलो हुन्छ । भर्खरै टिचिङमा (शिक्षण अस्पताल महाराजगञ्ज) जँचाएर आएको । अप्रेशन गर्नुपर्छ भनेको छ । अप्रेशनबाट ठीक हुन्छ भन्ने नै लाग्दैन । केही भयो भने मेरी श्रीमती, दुई बच्चा छन् के होला ! भोलि पनि जँचाउन बोलाएको छ । औषधीबाटै ठीक भए हुन्थ्यो ।’
क्याम्पमा जे देखियो
बिहीबार दिउँसो कपन बालुवाखानी रोहिंग्या शरणार्थी क्याम्प पुग्दा वृद्ध, महिला र बालबच्चा मात्र देखिन्थे । उनीहरुसँग कुरा गर्न खोज्दा उनीहरु बोल्न मानेनन् । उनीहरु सबैको एउटै जवाफ हुन्थ्यो, ‘हामीलाई नबोल्नु भनेको छ ।’ नेपालमा भूकम्प पीडित बसेको क्याम्पको झल्को दिने रोहिंग्या शरणार्थी क्याप एउटा छुट्टै गाउँजस्तो देखिन्छ । कपन बालुवाखानीबाट केही माथिको डाँडामा ८५ परिवार र त्यसको केही पछाडी खाल्डोमा २२ परिवार रोहिंग्या बसिरहेका छन् ।
८५ परिवार बसेको क्याम्प पस्ने वित्तिकै देखिन्छ मस्जिद । जस्तापाताले बारेको मस्जिदको छेवैमा छ लहरै धारा । जहाँ नमाज पढ्नुअघि उनीहरु हातमुख धोएर कुल्ला गर्छन् र शुद्ध हुन्छन् । मस्जिदपछि लहरै छ ८५ परिवारका लागि बनाइएको टहरा । बालबच्चा त्यही टहराको वरिपरि खेलिरहेका छन् । कोही टहराभित्र आ–आफ्नै काममा व्यस्त छन् । उनीहरु कोही मोवाइलमा गेम खेलिरहेका थिए । कोही म्यानमारको पछिल्लो अवस्था बुझ्न म्यानमारमा रहेका आफन्तलाई फोन लगाइरहेका थिए । क्याम्पभित्रै छ एउटा सानो किराना पसल । जहाँ चिया, बिस्कुटदेखि चाउचाउ, साबुन, नुन, तेल राखिएको छ । रोहिंग्या भाषामै खासखुस गरिरहेका उनीहरु बाहिरी मान्छे क्याम्पमा देख्दा सन्देहको दृष्टिले हेर्थे । कुनै अनुहार डराएको जस्तो देखिन्थ्यो । हामीले उनीहरुको अनुहारको भाव पढिरहँदा उनीहरुको भने नमाज पढ्ने समय भयो ।
उनीहरुले नमाज पढ्ने तयारी गरिहँदा मस्जिदसँगै जोडिएको मदरसामा हामीलाई पर्खन भनियो । मदरसामा बिहान उनीहरुको कक्षा हुन्छ । ५० जना जति बालबालिका त्यहीँ बसेर कुरान पढ्छन् । बाहिर काम पाउनेहरु काममा निस्कन्छन् । केही साना बच्चा स्थानीय विद्यालयमा जान्छन् ।
त्यहाँ कोही हामीलाई टाढाबाट आएको पाहुना जसरी स्वागत गर्दै थिए । कोही हिन्दी भाषामा के गर्न आएको भनेर सोधिरहेका थिए । उनीहरु प्रश्न सोध्यो भने जवाफ दिँदैनथे तर कुरा गर्दा जवाफ फर्काउँथे । उनीहरुको स्वभाव अनुसार हामीले पनि प्रश्न सोधेनौँ, कुरा गर्यौँ । हामीले आफ्नो कुरा राख्ने मौका तब पायौँ जब सन् २०१२ को मध्यतिर नेपाल आएका मोहम्मद अयूब आफ्नो ढाडको बिमारी जँचाएर टिचिङ अस्पतालबाट फर्किए ।
फेरि म्यानमार
उनीहरु सबैको एउटै आशा थियो । शान्तिले देश फर्कने । अयूब केहीबेर विगत सुनाउँछन्, केहीबेर वर्तमानमा ल्याउँछन् । सँगै भविष्यको चिन्ताले केहीबेर भावुक बनाउँछन् । देश फर्कन पाए भन्ने आशा गरिरहँदा अहिले पनि म्यानमारमा भड्किएको हिंसा सम्झन्छन् र थकथकाउँछन् । ‘त्यहाँ छँदा आफूआफू मिलेर बिहे गर्न पनि सरकारलाई पैसा बुझाउनु पथ्र्यो । आफूले घर बनाउँदा पनि सरकारी झन्झट निकै थियो । झण्डै झण्डै घर बनाउन पुग्ने पैसा सरकारलाई बुझाउनु पथ्र्यो, घरको लम्बाई चौडाई सरकारले नै तोक्थ्यो’ अयूबले म्यानमारमा छँदाको समय सम्झिए ।
‘अहिले पनि फेसबुक हेर्छौं, त्यहाँ रहेका आफन्तसँग कुराकानी गर्छौं । सबैजस्तो खबर हामीले पाइरहेका छौँ’ अयूबले सुनाए । मानवताको पुरानो उक्ती सुनाउँदै अयूबले हामी सबै एकै हो भनेर बुझाउन चाहे । ‘हामी सबैको रगत आखिर रातै आउँछ । हामीलाई काट्दा पनि रातै आउँछ, उनीहरुलाई काट्दा पनि रातै आउँछ । हामी एकै होइनौँ र ? फेरि यो हिंसा किन ?’ अयूबको प्रश्नको जवाफ ‘हो’ भए पनि हामीले मौन रहेर सहमति जनायौँ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) मार्फत पाउँदै आएको केही सहयोग रकम पनि सन् २०१५ देखि नपाएपछि आफूहरुलाई अप्ठेरो परेको अयूबले सुनाए । सहयोग पाउनुपर्ने भन्दै केही समय उनीहरुले यूएनएचसीआरको कार्यालय महाराजगञ्जअघि धर्ना पनि दिएका थिए । तीन महिना लामो धर्ना बस्दा पनि कुनै सुनुवाई नभएको अयूबले सुनाए । उल्टै प्रहरी लगाएर धरपकड गर्ने र थुन्ने गरेपछि उनीहरुको धर्ना पनि तुहियो । ‘हामीलाई सहज रुपमा देश फर्कने वातावरण बने धेरै राम्रो हुन्थ्यो । नभए पनि हामीलाई यहीँ काम गर्न सजिलो हुने केही कागज बनाइदिए हुन्थ्यो । अहिले त केही गर्न सक्ने अवस्थामै छैनौँ । देशले पराया बनाएर लखेंट्दाको पीडा धेरै हुँदो रहेछ ।’

त‍स्बिर : वासिंटन पोस्ट
के भन्छ यूएनएचसीआर ?
सञ्चार माध्यममा पछिल्लो समय म्यानमारमा भड्किएको हिंसापछि रोहिंग्या समुदाय नेपाल आएको बताए पनि यूएनएचसीआरले त्यसको खण्डन गरेको छ । गएको अगस्टदेखि भड्केको हिंसाका कारण कोही पनि रोहिंग्या नेपाल नआएको यूएनएचसीआरका सूचना अधिकृत दिपेशराज श्रेष्ठले बताए । श्रेष्ठले पछिल्लो अवस्थालाई आफूहरुले नजिकबाट नियालिरहेको बताए । उनका अनुसार पछिल्लो अवस्थामा म्यानमारबाट कोही पनि शरणार्थीका रुपमा बंगलादेश र भारतको बाटो हुँदै नेपाल आएका छैनन् ।
कपन बालुवाखानी क्याम्पमा झण्डै तीन सय शरणार्थी भए पनि अन्तर्राष्ट्रिय शरणार्थी कानून अन्तर्गत १४७ जना रोहिंग्याले मात्र शरणार्थी परिचय पत्र पाएका छन् । श्रेष्ठका अनुसार १ सय जना रोहिंग्या शरणार्थी परिचय पत्रका लागि आएको र त्यसका लागि प्रक्रिया अगाडि बढिरहेको छ ।
सन् २०१५ देखि अशक्त, विरामी, वृद्ध, एकल महिला बालबालिकाको शिक्षाका लागि मात्रै यूएनएचसीआरले भत्ता दिँदै आएको छ । नेपाल सरकारसँग सहकार्य गरेर यहाँ रहेका शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको यूएनएचसीआरले जनाएको छ ।
तस्बिर : एबीसी
रोहिंग्या को हुन् ?
रोहिंग्या म्यानमारको अल्पसंख्यक मुस्लिम समुदाय हो । उनीहरु रोहिंग्या भाषा बोल्छन् । जसलाई म्यानमार सरकारले आधिकारिकता प्रदान गरेको छैन । म्यानमारले सन् १९८२ मा कानुन बनाएर रोहिंग्यालाई नागरिक हुनबाट वञ्चित गरेको छ । म्यानमारमा तीन किसिमको नागरिकता प्रदान गरिन्छ । म्यानमारमा ‘सिटिजन’, ‘एसोसियट सिटिजन’, र ‘नेचुरलाइज्ड सिटिजन’ गरी नागरिकतालाई तीन प्रकारमा विभाजन गरिएको छ ।

सन् १८२३ भन्दा अघिदेखि नै म्यानमारमा बस्दै आएका कचिन, काया, कारेन, चिन, मोन, राखिन, शान समुदायलाई म्यानमारको पूर्ण नागरिकको रुपमा लिइन्छ । १९४८ को युनियन नागरिकता ऐन अनुसार नागरिकता पाउने नागरिकलाई एसोसियट नागरिकका रुपमा हेरिन्छ । त्यस्तै १९४८ भन्दा अघिदेखि म्यानमारमा बस्दै आएका नागरिकलाई प्राकृतिक नागरिक (नेचुरलाइज्ड सिटिजन) का रुपमा नागरिकता प्रदान गरिन्छ । १९८२ को कानुनले सयौं वर्षदेखि म्यानमारमा बस्दै आएका रोहिंग्यालाई नागरिकको रुपमा स्वीकार गरेन । उनीहरु म्यानमारको हिंसाबाट बच्न बंगलादेश आए, जहाँ उनीहरुलाई त्यहाँको नागरिक मान्ने कुरै थिएन । उनीहरु अहिले मलेसिया, थाइल्याण्ड, भारत, बंगलादेश, नेपाललगायतका देशमा शरणार्थीका रुपमा जीवन बिताइरहेका छन् ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *