Breaking News
Home / कला / गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु

गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु

रसुवा, साउन १२ – रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु भएको छ । हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तिर्थयात्री आउने क्रम सुरु भएको छ । श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमासम्म लाग्ने मेला यो वर्ष नागपञ्चमीमा नै सकिने भएकाले त्यही अनुसार मेला व्यवस्थापन गरिएको छ ।
यस वर्ष साउन १० गतेदेखि १३ गतेसम्म चार दिन मात्र विशेष मेला लाग्ने भएको छ । यसअघि १० दिनसम्म मेला लाग्ने भएपनि यो वर्ष पूर्णिमाको दिन ग्रहण लाग्ने भएकाले १३ गतेसम्म मात्र मेला लाग्ने भएको हो ।
नागपञ्चमीकै दिन जनैपूर्णिमा अर्थात रक्षा बन्धन गर्ने गरी मेलाको आवश्यक तयारी गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष झण्डै १० हजारले मेला भर्ने अनुमान गरिएको छ । गएको वर्ष जनैपूर्णिमा झण्डै ७ हजार पाँच सयले मेला भरेका थिए ।
चार दिनसम्म विशेष मेला लाग्ने भएपनि पूर्णिमासम्म तिर्थयात्री आउने अनुमान गरिएको समितिले जनाएको छ । मेला व्यवस्थापनको सम्पूर्ण काम सकिएको समितिले जनाएको छ । मेला व्यवस्थापनको लागि विभिन्न समिति तथा उपसमिति निर्माण गर्ने, धुन्चेबाट गोसाइँकुण्डसम्मको पदमार्गको सरसफाई गर्ने, आवश्यक प्रचार प्रसारका सामग्रीको छपाई गर्ने पदमार्ग सुधार, पाटीपौवा मर्मत र सरसफाई गर्ने, दररेट निर्धारण गर्ने, सूचना केन्द्रको स्थापना गर्ने लगायतको सम्पूर्ण तयारी सकिएको हो ।
६० वटा थर्पु निर्माण
मेला भर्न आउने तिर्थयात्रीलाई बास बस्नका लागि आवश्यक थर्पुको व्यवस्थापन गरिएको छ । धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा १७ वटा स्थायी होटल मात्र सञ्चालनमा रहेकाले मेला अवधिभरका लागि अस्थायी छाप्रो अर्थात थर्पु निर्माण गर्ने गरिएको छ । यस वर्ष ७५ वटा थर्पुले अनुमति लिएका छन् । ६० वटा थर्पु निर्माण भैसकेको र अन्य थर्पु निर्माण भैहरेको समितिले जनाएको छ । धुन्चेको घट्टेखोलामा थर्पु सञ्चालनका लागि आठ सय र गोसाइँकुण्डका लागि १३ सयसम्म दर निर्धारण गरिएको छ ।
स्वास्थ्य क्याम्प सञ्चालन
जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय रसुवासँगको समन्वयमा पदमार्गको पाँच स्थानमा स्वास्थ्य क्याम्प सञ्चालन गरिएको छ । चार दिनसम्म सञ्चालन हुने स्वास्थ्य क्याम्पका लागि विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका छन् । समितिका अनुसार साउन १३ गतेसम्म स्वास्थ्य क्याम्प सञ्चालन हुने भएको छ ।
मंगलबारदेखि पदमार्गको गोसाइँकुण्ड, बुद्ध मन्दिर, लोरीविना, चोलाङपाटी र घट्टेखोलामा स्वास्थ्य क्याम्प राखिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख झलक गौतमले जानकारी दिनुभयो ।
यसरी पुग्न सकिन्छ गोसाइँकुण्ड
तिर्थयात्रीहरु मुख्य बाटोको रुपमा रसुवाको धुञ्चेबाट घट्टेखोला, बुद्ध मन्दिर, लौरीविना हुँदै पैदल मार्फत जाने गरेका छन् । काठमाडौंको सुन्दरीजलबाट पैदल यात्रा सुरु गरी, चिसापानी, कुटुङसाङ्ग, भंगिनगोठ, छहरेपाटी, घोप्टेभीरको फेदी हुँदै सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्ने अर्को पैदल मार्ग रहेको छ ।
यस मार्गबाट विश्राम गर्दै दुई दिनमा सहज रुपमा गोसाइँकुण्ड पुग्न सकिन्छ । त्यसैगरी गोसाइँकुण्ड पुग्न अर्को पदमार्गको रुपमा सुन्दरीजलबाट पैदल मार्गको विकल्पमा तिर्थयात्रीको लागी नुवाकोटको विदुर नगरपालिका–५ गगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङफेदी तालुकसेरी, हुँदै फेदी निस्केर सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्न सकिन्छ ।
धार्मिक आस्था
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सवै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैं भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानव बिच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तिर्थयात्रीले मेला भर्ने गरेका छन् ।-
हिमनाथ देवकोटा

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *