Breaking News
Home / विचार / तराईका नागरिक भन्छन्–आन्दोलन होइन, चुनाव हुनुपर्छ

तराईका नागरिक भन्छन्–आन्दोलन होइन, चुनाव हुनुपर्छ

जेठ ३१ – अन्यौल बढेपनि उत्साह घटेको छैन । गाउँटोलमा हरेक दिन चुनावकै कुरा हुन्छ । बिभिन्न दलका नेता भोट माग्दै घरघर पुग्न थालिसकेका छन् । तीनवटा प्रदेशमा चुनाव भएर जनप्रतिनिधिले काम थाले भन्ने सुनेका यहाँका बासिन्दालाई पनि छिटो चुनाव होस् भन्ने चाहना छ ।स्थानीय तहको चुनावसँगै आउने नयाँ प्रतिनिधिले वर्षौंदेखि गति लिन नसकेको विकासको काम अघि बढाउने नागरिकको विश्वास छ । यहि विश्वासले असार १४ गते आफू भोट हाल्न तयार रहेको बताउनुहुन्छ, सिरहा नगारपालिका ११ का राजाराम कामती । ‘२ गते मनोनयन हुन्छ र १४ गते चुनाव हुन्छ भन्ने ठूलो विश्वास छ’ उहाँले भन्नुभयो, ‘राजपाले आन्दोलन गरेपनि उसलाई विश्वासमा लिएर १४ गतेको चुनाव सफल बनाउनुपर्छ ।’स्थानीय तह चुनिएसँगै विकासका नयाँ नयाँ योजना, बजेट र स्थानीय श्रोतको परिचालन सुरु हुनेछ । त्यहि भएर स्थानीय तहको चुनाव राजनीतिक विषय हुँदाहुँदै स्थानीय विकासको अवसर पनि हो त्यसैले राजनीतिक मागलाई केही दिन थाँति राखेर भएपनि यो अवसरलाई खेर फाल्न नहुने धेरैजसोको भनाई छ ।

‘आन्दोलनले कसैलाई फाइदा गर्दैन, घाटा मात्र हुन्छ’ जनकपुरमा रिक्सा चालक फेकन पासवान भन्नुहुन्छ, ‘तोकिएको समयमै चुनाव हुनुपर्छ, चुनाव भएपछि विकास हुन्छ ।’ वर्षौंपछि हुन लागेको स्थानीय तहको चुनावले नागरिकलाई अधिकारसम्पन्न गराउने भएकाले दलहरुले चुनावको सदुपयोग गर्नुपर्ने उहाँजस्ता धेरै नागरिकको भनाई छ । जनकपुरमा मजदुरी  गर्ने राजकुमार दास आन्दोलनले भन्दा चुनावले नागरिकलाई राहत दिने हुँदा चुनावमा जानुपर्ने सुझाव दिनुहुन्छ । ‘बन्द गरेर के हुन्छ ? फाइदा त कसैलाई हुँदैन नि’ उहाँ हुनुहुन्छ, ‘चुनावपछि गाउँमा विकास हुन्छ, त्यसैले राजपा पनि सहभागी हुनुपर्छ ।’संविधान जारी भएदेखि नै आन्दोलनको मोर्चामा रहेका मधेस केन्द्रित दललाई स्थानीय तहको चुनावमा सहभागी गराउने सरकारको प्रयास अझै सफल भएको छैन । धेरैले चुनावमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आग्रह गरिरहेपनि केहीले भने माग संबोधन नभएसम्म  राजपा चुनावमा जान नहुने बताउँछन् ।सर्लाहीका उत्तरी क्षेत्रमा चुनावको चहलपहल बढ्दै गएपनि दक्षिणी क्षेत्रमा खासै चहलपहल छैन । संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम चुनावमा होमिएपनि राजपाले भाग नलिने बताएपछि दक्षिणी भेगका मतदाता अन्योलमा परेका छन् । राजपाले चुनावमा भाग नलिने भएपछि उनीहरु दोधारमा देखिन्छन् । सर्लाही बरहथवाका व्यापारी सुरेश यादव राजपालाई पनि चुनावमा सहभागि गराउनुपर्ने बताउनुहुन्छ । ‘राजपालाई पनि चुनावमा सहभागी गराउनेगरी सहमति गरेर अघि बढ्नुपर्छ’ उहाँ भन्नुहुन्छ ।पहिलो चरणको चुनाव भइसकेका ठाउँमा सुरु भएको चहलपहल र विकासका नयाँ नयाँ योजना र घोषणाले यहाँका नागरिकलाई पनि चुनावमा भाग लिने हतारो लागेको छ । तर राजपाको अवरोधका कारण चुनावप्रतिको आशंका बाँकी नै छ । नागरिक बन्द र आन्दोलन भन्दा पनि केन्द्रियस्तरमै राजनीतिक सहमति खोज्नुपर्ने सुझाव दिन्छन् ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *